काठमाडौँ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढीपहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बलको उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकाको अचेत अवस्थामा सकुशल उद्धार गरेको छ।
शुक्रबार साँझ करिब ६ः१५ बजे टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको मसिनो आवाज सुनेपछि तत्काल खोजी थालेको थियो। सीमा सुरक्षा चौकी टिमुरेबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको ६ जनाको टोलीले माटो पन्छाएर बालिकालाई जीवितै उद्धार गरी चौकीमा पु¥याएको हो। उद्धार गर्दा बालिकाको स्वास्थ्य अवस्था गम्भीर र अचेत रहेको जनाइएको छ।
सशस्त्र प्रहरी टोलीले बालिकालाई चौकीमा ल्याएर न्यानो बनाई प्राथमिक उपचार दिइरहेको छ। उनको अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने पहल भइरहे तापनि रातको समय भएकाले तत्काल उडान सम्भव हुन सकेको छैन। जोखिमयुक्त टिमुरे क्षेत्रमा सुरक्षाकर्मीहरूले उच्च सतर्कताका साथ खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।