काठमाडौँ । रसुवासहित देशका विभिन्न जिल्लाहरूमा बाढी तथा पहिरोका कारण प्रभावित भएका नागरिकहरूको उद्धार, उपचार तथा राहतका लागि वीरगन्ज हेल्थकेयर अस्पतालले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। अस्पतालले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गराएको हो।
अस्पतालका अध्यक्ष अबुलहैस अन्सारीका अनुसार शुक्रबार पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तमार्फत १० लाख रुपैयाँ कोषमा जम्मा गरिएको हो। बाढी–पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अस्पताल परिवारले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। अध्यक्ष अन्सारीले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राज्यका साथै निजी क्षेत्र, सामाजिक सङ्घ–संस्था र आम नागरिकले पनि आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए । हजारौँ परिवार प्रभावित भएको अवस्थामा मौन बस्न नसकिने उल्लेख गर्दै उहाँले अस्पतालले मानवीय उत्तरदायित्व वहन गर्दै यो सहयोग उपलब्ध गराएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त (बुद्धिप्रसाद पन्त) ले वीरगन्ज हेल्थकेयर अस्पतालको यस कदमको उच्च प्रशंसा गरेका छन् । देश अत्यन्तै पीडा र संकटमा परेको बेला अस्पतालले रकम उपलब्ध गराएर आफ्नो सामाजिक दायित्व पूरा गरेको बताउँदै सांसद पन्तले यो कार्य अन्य सङ्घ–संस्थाहरूका लागि पनि अनुकरणीय हुने उनले बताए ।