काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ तथा सांसद बसना थापाले बाढी तथा पहिरो प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेकी छन्।
सांसद थापाले आफ्नो निजी व्यवसाय ‘होटल पार्क इन’ को नामबाट उक्त रकम कोषको खातामा जम्मा गराएकी हुन्। देशका विभिन्न भागमा आएको विनाशकारी प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेको कठिन परिस्थितिमा पीडित नागरिकहरूलाई तत्काल राहत र पुनस्र्थापनामा थोरै भए पनि सहारा पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको उनले बताएकी छन्।
सांसद थापाले आगामी दिनहरूमा पनि बाढीपहिरो प्रभावित नागरिकहरूको सहयोगका लागि आफ्नो तर्फबाट निरन्तर योगदान रहने प्रतिबद्धता व्यक्त गरेकी छन्। साथै, विपद्को यस दुःखद् घडीमा सबै राजनीतिक दल, उद्योगी, व्यवसायी तथा आम नागरिकहरूलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न र पीडित परिवारहरूको साथमा उभिनसमेत उनले अपिल गरेकी छन्।