काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको संख्या ५५० नाघेको छ। नेपाल प्रहरीले शुक्रबार साँझ ५ः०० बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार देशका विभिन्न जिल्लाहरूबाट हालसम्म कुल ५५३ वटा शव फेला परिसकेका छन्।
प्रहरीको तथ्याङ्कअनुसार फेला परेका शवहरूमध्ये सबैभन्दा बढी चितवन जिल्लामा २२२ वटा रहेका छन्। यसैगरी नवलपरासी पूर्वमा १३४, गोरखामा ४७, धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा ३१, नवलपरासी पश्चिममा २८ र रसुवामा १३ वटा शव फेला परेका छन्। बाढीका कारण हालसम्म २७ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन् भने तीमध्ये एक जना प्रहरी कर्मचारीको शव मृत अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ।
बाढी प्रभावित क्षेत्रहरूमा १ हजार ४७३ जना नागरिकको सफलताका साथ उद्धार तथा उपचार गरिएको छ। जसमा नुवाकोटका ८९८, रसुवाका ५७२ र धादिङका ३ जना रहेका छन्। यसबाहेक काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत र उपचारपछि डिस्चार्ज भएका घाइतेहरूको संख्या ९७ पुगेको छ। प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा सुरक्षा व्यवस्थापनलाई चुस्त बनाउन हाल ४ हजार ४८९ जना प्रहरी टोली निरन्तर खटिरहेका छन्।