काठमाडौँ । भारत सरकारले विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि राहत तथा उद्धार सहयोगलाई थप तीव्र बनाउँदै तेस्रो विमानमार्फत मानवीय सहायता सामग्री पठाउने तयारी गरेको छ। यसअघि दुईवटा विशेष विमानमार्फत राहत सामग्री पठाइसकेको भारतले आज साँझ तेस्रो विमान पठाउन लागिएको जानकारी भारतीय विदेश मन्त्रालय (ःभ्ब्) का प्रवक्ता रणधीर जयसवालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिएका हुन्।
प्रवक्ता जयसवालका अनुसार तेस्रो विमानमा करिब १२ देखि १३ टनसम्मका मानवीय सहायता सामग्रीहरू रहनेछन्। उक्त विमान सफलतापूर्वक उडान भरेसँगै भारतले नेपालमा पठाएको कुल राहत सामग्रीको मात्रा करिब ६० टन पुग्नेछ। यसअघि अगस्ट २६ को साँझ १० टन राहत सामग्रीसहित पहिलो र अगस्ट २७ को बिहान ३७.५ टन सामग्रीसहित दोस्रो विमान नेपाल आइपुगिसकेका छन्। यी सामग्रीहरूमा पाल, कम्बल, सरसफाइ किट, सौर्य बत्ती, जेनेरेटर, पानी पम्प, औषधि तथा खाद्य सामग्रीहरू समावेश थिए।
नेपाल सरकारको माग र आवश्यकताका आधारमा तेस्रो खेपमा पोर्टेबल जेनेरेटर, डिग्निटी किट, पानी शुद्धीकरण गर्ने ट्याब्लेट र औषधिहरू पठाउन लागिएको जयसवालले स्पष्ट पारे। सामग्री सहायताबाहेक भारतले नेपालमा सुरुङ उद्धार टोली, स्वास्थ्यकर्मीको टोली, बेल्ली ब्रिज तथा राष्ट्रिय विपद् प्रतिकार्य बल (ल्म्च्ँ) का विशेषज्ञ टोलीहरू पठाउनसमेत प्रस्ताव गरेको छ। यस्तै बाढी प्रभावित क्षेत्रमा रहेका २१ जना भारतीय नागरिकलाई उद्धार गरी नयाँ दिल्ली फर्काइसकिएको र अन्यको उद्धार तथा खोज कार्य जारी रहेको भारतीय दूतावासले जनाएको छ।