काठमाडौं । नेपालका लागि इजरायलका राजदूत शमुलिक एरिए बासले रसुवा लगायत नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
राजदूत बासले आज एक भिडियो सन्देश जारी गर्दै आफूलाई इजरायलका राजदूत मात्र नभई नेपाली जनताको मित्रका रूपमा प्रस्तुत गर्दै विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
उनले बाढीका कारण घर तथा पूर्वाधारमा भएको क्षति र आफ्ना प्रियजनको अवस्थाबारे अझै पर्खाइमा रहेका परिवारको पीडाप्रति दुःख व्यक्त गर्दै यस्तो कठिन समयमा प्रभावित नागरिकले आफूलाई एक्लो महसुस गर्न नहुने बताएका छन्।
“आज इजरायल नेपालसँग उभिएको छ,” भन्दै राजदूत बासले इजरायल सरकार र जनताको तर्फबाट नेपाललाई आवश्यक सहयोगका लागि साथ दिने प्रतिबद्धता जनाएका छन्।
उनले विपद्को समयमा उद्धारमा खटिएका नेपाली सुरक्षा निकाय, उद्धारकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा आम नागरिकको साहस र योगदानको प्रशंसा गरेका छन्।
राजदूत बासका अनुसार अहिलेको प्राथमिकता उत्सव वा अन्य विषय नभई मानव जीवन बचाउनु, प्रभावित परिवारलाई सहयोग गर्नु, घरबार गुमाएकालाई साथ दिनु र विपत्तिमा परेका समुदायको उद्धार गर्नु हो।
उनले राहत, उद्धार, पुनःस्थापना तथा मानवीय सहायताका लागि नेपाल सरकार र सम्बन्धित निकायसँग मिलेर काम गर्न इजरायल प्रतिबद्ध रहेको बताए।
बासले बेपत्ता नागरिकहरू सकुशल भेटिऊन्, घाइतेहरू शीघ्र स्वस्थ होऊन् र मृतकका परिवारले यो कठिन समय सामना गर्ने शक्ति पाऊन् भन्ने कामना गरेका छन्।
“नेपाल कठिन परिस्थितिको सामना गर्न सक्ने साहसी र एकताबद्ध जनता भएको देश हो। आज इजरायल करुणा, मित्रता र ऐक्यबद्धतासहित नेपालको साथमा उभिएको छ। तपाईंहरू एक्लै हुनुहुन्न,” राजदूत बासले आफ्नो सन्देशमा भनेका छन्।