काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पतालहरूमा भौँतारिइरहेका छन्। बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा अन्य सुरक्षा निकायले उद्धार गरी काठमाडौं ल्याएका घाइते तथा शवको विवरण खोज्दै परिवारजन टिचिङ अस्पताल, ट्रमा सेन्टर र वीर अस्पताल पुगिरहेका छन्। तर, धेरै परिवारले आफ्ना आफन्तको अवस्थाबारे अझै कुनै जानकारी पाउन सकेका छैनन्।
सिन्धुपाल्चोकका ३२ वर्षीय ट्रेकिङ गाइड श्याम लामिछाने, रसुवाको अपर हाइड्रोपावरमा कार्यरत गुञ्जबहादुर श्रेष्ठ, रसुवागढी हाइड्रोपावरमा कार्यरत मिना आले मगर र नवराज मगर तथा टिमुरे पुगेका २१ वर्षीय गाडी चालक वीरबहादुर श्रेष्ठलगायत सयौँ नागरिकहरू बाढीपछि एकाएक सम्पर्कविहीन बनेका छन्। उनीहरूका परिवारजनले आफ्ना मान्छे घाइते वा मृतकको सूचीमा समेत फेला नपरेपछि सबैसँग खोजीमा सहयोग गरिदिन र ’सास वा लास’ जे भए पनि पत्ता लगाइदिन रुँदै अपिल गरिरहेका छन्।
यसैबिच, रसुवा, नुवाकोट, गोरखा तथा धादिङमा भदौ १० गते आएको भीषण बाढीपहिरोमा परी घाइते भएका ४८ जनालाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जमा ल्याइएको छ। अस्पतालले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार उपचारका क्रममा २५ वर्षीय कुशल मगरको मृत्यु भएको छ भने २१ जना घाइते उपचारपछि डिस्चार्ज भइसकेका छन्। हाल अस्पतालमा उपचाररत घाइतेमध्ये पेमा तामाङ र राजेन्द्र भट्टको अवस्था गम्भीर रहेकाले आईसीयूमा राखिएको छ भने अन्य घाइतेहरूको पनि शिक्षण अस्पतालका विभिन्न कक्षहरूमा उपचार जारी छ।