काठमाडौँ । बाढीका कारण क्षतिग्रस्त सडक तथा पुल पुनः सञ्चालन गर्न नेपालले भारत र चीनसँग बेलिब्रिज सहयोग मागेको छ।
परराष्ट्र मन्त्रालयले बेलिब्रिज उपलब्ध गराइदिन भारत र चीन सरकारलाई पत्राचार गरेको परराष्ट्रमन्त्री शिशिर खनालका सल्लाहकार जगदीश्वर पाण्डेले जानकारी दिए। बुधबार रसुवाबाट आएको बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। पुलहरू बगाएपछि धादिङतर्फ जाने मुख्य सडकसहित विभिन्न स्थानको सडक सञ्जाल अवरुद्ध भएको छ। चीनसँग जोडिने रसुवागढी नाकाको पुलसमेत बाढीले बगाएको थियो।
त्यस्तै, नुवाकोटको त्रिशूलीमा रहेको पुललगायत अन्य क्षेत्रमा पनि पूर्वाधारमा ठूलो क्षति पुगेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्ला प्रभावित भएका छन्। पाण्डेका अनुसार सडक सञ्जाल तत्काल सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधारबारे परराष्ट्र मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायसँग छलफल गरेको थियो। छलफलका क्रममा तत्काल सडक सम्पर्क पुनःस्थापित गर्न बेलिब्रिज आवश्यक देखिएपछि भारत र चीनसँग सहयोग माग्दै पत्र पठाइएको उनले बताए। सल्लाहकार पाण्डेले सहयोगका लागि चासो देखाएका अन्य राष्ट्रसँग पनि आवश्यकताअनुसार सहयोग माग गरिने जानकारी दिए।