काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीले भदौ १२ गते दिउँसो ३ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको जनाएको छ। प्रहरीका अनुसार २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये एक जना प्रहरी कर्मचारीको शव भने फेला परिसकेको जनाइएको छ। फेला परेका ५४७ शवमध्ये सबैभन्दा धेरै चितवनमा २२१ जनाको शव भेटिएको छ। त्यसपछि नवलपरासी पूर्वमा १३४, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा २९, नवलपरासी पश्चिममा २८ र रसुवामा १३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ४७३ जनाको उद्धार गरी उपचार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका ५७२, नुवाकोटका ८९८ र धादिङका ३ जना छन्। त्यस्तै, काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ९४ रहेको प्रहरीले जनाएको छ।