काठमाडौं । तिब्बती क्षेत्रमा पुनः ताल फुटेको सूचना आएपछि नेपाल प्रहरीले उद्धारमा खटिएका सुरक्षाकर्मी तथा नदी तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
प्रहरीले तत्काल सूचना जारी गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखेर सबैलाई सचेत रहन आग्रह गरेको हो। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि चिनियाँ पक्षबाट थुनिएको ताल फुटेको जानकारी प्राप्त भएको बताएका छन्। उनका अनुसार नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन सर्कुलर जारी गरिसकिएको छ। चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास बनेको ठूलो ताल फुटेको बताइएको छ। छोचेन खोला त्रिशूली नदीको माथिल्लो क्षेत्रमा पर्ने सहायक नदीका रूपमा रहेको छ।