काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज (२०८३ भदौ १२ गते) देशका विभिन्न ३२ भन्दा बढी जिल्लाहरू भई बहने साना नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार पूर्वदेखि पश्चिमसम्मका पहाडी तथा हिमाली जिल्लाहरू—पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर), नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, रोल्पा, दैलेख र अछाम आसपासका साना नदीहरूमा बाढीको जोखिम रहेको छ।
यसैबिच, गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हाल भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल नै रहे तापनि तटीय क्षेत्रमा उच्च सतर्कता कायम राख्नुपर्ने देखिएको छ। चीन सरकारबाट प्राप्त पछिल्लो भू–उपग्रह (स्याटेलाइट) तस्बिर तथा प्रारम्भिक विश्लेषणअनुसार भदौ १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर बनेको ताल अझै बढ्ने क्रममा रहेको र जुनसुकै बेला फुटेर थप जोखिम सिर्जना हुनसक्ने देखिएको छ।
उक्त ताल फुट्न सक्ने जोखिम अझै कायमै रहेकाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, खोजी तथा उद्धार कार्यमा खटिएका उद्धारकर्ता र सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। सबैलाई नदी किनार तथा जोखिमयुक्त क्षेत्र छाडी सुरक्षित अग्लो स्थानमा रहन अपिल गरिएको छ।


