काठमाडौँ । काठमाडौँ–मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गतको पृथ्वी राजमार्ग विगत तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध रहेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएको लेदो तथा गेग्रान राजमार्गका विभिन्न खण्डमा थुपारेपछि बुधबार साँझदेखि सडक यातायात ठप्प बनेको हो।
ट्राफिक प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डेयका अनुसार धादिङको गजुरी गाउँपालिका र गल्छी गाउँपालिकाका विभिन्न खण्डमा बाढीले ठूलो मात्रामा लेदो थुपारेको छ। गजुरी गाउँपालिका–५ स्थित गलौदी र बाहुनी भिर तथा गल्छी गाउँपालिकाको महेश दोभानमा अझै लेदो पन्छाउन बाँकी रहेको छ। सडक आसपासमा बाक्लो मानव बस्ती रहेका कारण जमेको लेदोलाई उठाएर अन्यत्रै लगेर फाल्नुपर्ने बाध्यताले गर्दा सडक खुलाउने काममा केही ढिलाइ भएको प्रहरीले जनाएको छ।
बाहुनी भिर क्षेत्रमा लेदो हटाउने उपकरण पु¥याउनका लागि सर्वप्रथम गलौदी र महेश दोभान क्षेत्रको सडक सफा गर्नुपर्ने अवस्था छ। हाल भारी उपकरणहरू प्रयोग गरी द्रुत गतिमा काम भइरहेको छ र आज दिनभरिमा सडक सफा गरी यातायात सञ्चालनमा ल्याउने लक्ष्यका साथ प्राविधिक तथा सुरक्षाकर्मीको टोली निरन्तर खटिरहेको छ।