काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देशका विभिन्न जिल्लाहरूमा ज्यान गुमाउनेहरूको संख्या अझै थपिँदै गएको छ। नेपाल प्रहरीले शुक्रबार बिहान ७ः०० बजे जारी गरेको अद्यावधिक बुलेटिनअनुसार बाढी प्रभावित ८ वटा जिल्लाहरूबाट हालसम्म कुल ४६९ जनाको शव फेला परेको छ।
प्रहरीको तथ्याङ्कअनुसार बाढीले बगाएर ल्याएका शवहरूमध्ये सबैभन्दा बढी चितवन जिल्लामा १७८ वटा फेला परेका छन्। यसैगरी नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव संकलन गरिएको प्रहरीले जनाएको छ।
विपद् प्रभावित क्षेत्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले हराइरहेका नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। बाढीले ठूलो मात्रामा जनधनको क्षति पु¥याएकाले प्रभावित क्षेत्रहरूमा उद्धारसँगै शवको पहिचान र व्यवस्थापनको कामसमेत तीव्र पारिएको छ।