काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
ट्रम्पले अमेरिकी प्रशासनले नेपाल सरकारका सम्बन्धित निकायसँग सम्पर्क तथा समन्वय गरिरहेको जानकारी दिँदै विपद्को अवस्थामा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्। अमेरिकी सञ्चारमाध्यम एनबीसी न्यूजका अनुसार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउने बताएका थिए। उनले नेपालमा भएको बाढीबाट भएको क्षतिलाई असाधारण भन्दै पक्की संरचनासमेत पानी र हिलोको भेलले बगाएको उल्लेख गरे।
बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्थाबारे पनि ट्रम्पले चासो व्यक्त गरेका छन्। उनका अनुसार प्रभावित क्षेत्रमा करिब ५० देखि ६० जना अमेरिकी नागरिक रहेको हुनसक्ने अनुमान छ। यद्यपि उनीहरूको अवस्थाबारे पूर्ण विवरण प्राप्त भइसकेको छैन। अमेरिकी समाचार संस्था सीएनएनले भने अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै नेपालमा बाढीपछि करिब ९० जना अमेरिकी नागरिक सम्पर्कविहीन रहेको जनाएको छ। पूर्व ह्वाइट हाउस प्रेस सचिव करोलिन लेभिटले नेपालमा रहेका अमेरिकी नागरिकको सुरक्षा प्रशासनको प्राथमिकतामा रहेको बताएकी छन्। उनका अनुसार राष्ट्रपति ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले प्रभावित अमेरिकी नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकता दिएका छन्।
अमेरिकाले ५ लाख डलर आपत्कालीन सहायता दिने
अमेरिकी विदेश मन्त्रालयले रसुवामा आएको बाढीको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ। राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन अमेरिकाले विपद् प्रतिक्रिया विज्ञलाई नेपाल पठाएको पनि मन्त्रालयले जानकारी दिएको छ। बाढीबाट ज्यान गुमाउनेका परिवार तथा प्रभावित समुदायप्रति अमेरिकाले समवेदना व्यक्त गरेको छ। अमेरिकाले क्याथोलिक रिलिफ सर्भिसेसमार्फत ५ लाख अमेरिकी डलर बराबरको आपत्कालीन सहायता उपलब्ध गराउने घोषणा गरेको छ। उक्त रकम प्रभावित समुदायका लागि अस्थायी आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी आवश्यकतामा खर्च गरिने जनाइएको छ।
यसैबीच, काठमाडौंस्थित अमेरिकी दूतावासले स्थानीय अधिकारीसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्था पहिचान तथा आवश्यक सहयोगका लागि पहल गरिरहेको जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकलाई स्थानीय प्रशासनको निर्देशन पालना गर्न, सञ्चारमाध्यमबाट प्राप्त सूचनामा ध्यान दिन तथा आपत्कालीन सूचनाका लागि स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम (STEP) मा दर्ता हुन आग्रह गरेको छ।