काठमाडौँ । नेपाल प्रहरीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीसम्बन्धी पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गरेको छ। प्रहरी मुख्यालयका अनुसार २०८३ भदौ ११ गते राति २१ः०० बजेसम्म संकलन गरिएको तथ्याङ्कअनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट हालसम्म ३८९ जनाको शव फेला परेको छ।
प्रहरीको तथ्याङ्क अनुसार फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवन जिल्लामा १३७ वटा संकलन गरिएका छन्। यसैगरी नवलपरासी पूर्वमा ८७, धादिङमा ३३, गोरखामा ३२, नुवाकोट र तनहुँमा २८/२८, नवलपरासी पश्चिममा २७ र रसुवामा १७ जनाको शव फेला परेको प्रहरीले पुष्टि गरेको छ।
बाढी प्रभावित क्षेत्रहरूबाट हालसम्म कुल ४६६ जना घाइते तथा प्रभावितहरूको सफलताका साथ उद्धार गरिएको छ। उद्धार तथा उपचार गराइएकाहरूमा रसुवाका २८९, नुवाकोटका ९०, काठमाडौँका ८४ र धादिङका ३ जना रहेका छन्। बाढीका कारण प्रभावित क्षेत्रमा कार्यरत २८ जना प्रहरी कर्मचारीहरू अझै पनि सम्पर्कविहीन रहेका छन्।
प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन नेपाल प्रहरीका मात्रै ४,३४८ जना सुरक्षाकर्मीहरू निरन्तर परिचालन गरिएका छन्। सुरक्षा निकायहरूले स्थानीय प्रशासनसँग समन्वय गरी हराइरहेकाहरूको खोजी कार्य र राहत वितरणलाई रातको समयमा पनि सम्भव भएसम्म चुस्त बनाएको जनाएका छन्।
