काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत, खोजी तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम तीव्र बनेको छ। सरकारले प्राप्त हुने सबै सहायता रकमलाई व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत संकलन गर्ने व्यवस्था मिलाएसँगै दाताहरूले कोषमा रकम जम्मा गर्न थालेका हुन्।
सोही व्यवस्था अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न निजी क्षेत्रका कम्पनी, बैंक तथा वित्तीय संस्था एवम् सङ्घ–संस्थाहरूबाट प्राप्त सहयोग रकम बुझ्न थाल्नुभएको छ। अर्थ मन्त्रालयका अनुसार पछिल्लो ६ घण्टाको अवधिमा मात्रै विभिन्न दाताहरूबाट हस्तान्तरण भएको कुल सहयोग रकम २७ करोड ३३ लाख रुपैयाँ पुगेको छ।
बाढी प्रभावित क्षेत्रमा तीव्र रूपमा उद्धार तथा राहत कार्य अगाडि बढाउन उद्योगी, व्यवसायी र निजी क्षेत्रले देखाएको यो अग्रसरताले कोषलाई थप बलियो बनाएको छ। मन्त्रालयले पारदर्शिता कायम राख्न कोषमा अतुलनीय योगदान पु¥याउने सम्पूर्ण दातृ कम्पनी तथा संस्थाहरूको विवरणसमेत सार्वजनिक गरेको छ। संकलित यो रकम बाढीपीडितको उद्धार र दिगो पुनस्र्थापनाका लागि प्राथमिकताका साथ परिचालन गरिने जनाइएको छ।
