काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पुगेको जनधनको क्षतिको पछिल्लो विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको छ। प्राधिकरणले गरेको अद्यावधिक तथ्याङ्कअनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूमा गरी हालसम्म ३५९ जनाको शव फेला परेको छ।
प्रहरी तथा स्थानीय प्रशासनको विवरणअनुसार फेला परेका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा १३२ वटा रहेका छन्। यसैगरी नवलपरासी पूर्वमा ८२, धादिङमा ३३, गोरखामा ३० (विभिन्न मानव अङ्गसहित), नुवाकोटमा २८, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी पश्चिममा १५ वटा शव संकलन गरिएको छ। बाढीका कारण गम्भीर घाइते भएका ७३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, जसमा रसुवाका ४३, नुवाठमाडौंका २७ र धादिङका ३ जना रहेका छन्।
प्राधिकरणका अनुसार बाढीमा परी कुल ९१० जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेहरूमा नेपाल प्रहरीका २८, नेपाल सेनाका ४४, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना राष्ट्रसेवक कर्मचारी रहेका छन्। यसैगरी रसुवा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (म्भ्इऋ) बाट प्राप्त विवरण अनुसार रसुवाका १६१ जना र नुवाकोटका १ जना सम्पर्क बाहिर छन्। सम्पर्कविहीन हुने अन्यमा ५१७ जना विदेशी नागरिक तथा विदेशमा बसी नेपाल घुम्न आएका १२७ जना नेपाली नागरिकसमेत रहेका छन्।
प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा नेपाल प्रहरीका ७,२५०, नेपाल सेनाका ४,२०० र सशस्त्र प्रहरी बलका १,८४५ जना रहेका छन्। उद्धारका क्रममा आज जमिनबाट ७५६ जना र हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार गरिएको छ, जसका लागि ६९ वटा हवाई उडान भरिएको थियो। उद्धार गरिएकाहरूमा ५० जना विदेशी नागरिकसमेत रहेका छन्।
नेपाल सरकारले तत्काल राहतका लागि रसुवा र नुवाकोट जिल्लालाई १÷१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ नगद उपलब्ध गराएको छ। चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र कम्बलसहित १० ट्रक राहत सामग्री तथा सञ्चार सेटहरू प्रभावित क्षेत्रमा पठाइएको छ भने हेलिकप्टरबाट ८ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री ढुवानी गरिएको छ। यसैबिच इन्धन आपूर्तिको व्यवस्था मिलाउन १८ हजार लिटर डिजेल र १८ हजार लिटर पेट्रोल प्रभावित क्षेत्रतर्फ पठाइसकिएको प्राधिकरणले जनाएको छ।