काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा रहेका विभिन्न ५ वटा जलविद्युत् आयोजनाका कम्तीमा २ सय १५ जना कर्मचारी तथा कामदारहरू सम्पर्कविहीन बनेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार बुधबार आएको बाढीपछि आयोजनास्थलमा खटिएका नेपाली तथा विदेशी श्रमिकहरूसँग सञ्चार सम्पर्क विच्छेद भएको हो।
विद्युत् आयोजनाहरू मध्ये निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत एन्ड्रिज हाइड्रोका ७६ जना, प्रवद्र्धक कम्पनीका ८ जना कोरियन नागरिकसहित ११ जना र परामर्शदाता टोलीका ७ जना गरी ठूलो सङ्ख्यामा कर्मचारीहरू सम्पर्क बाहिर छन्। इप्पानका अनुसार यस आयोजनाको हेडवक्र्स क्षेत्रमा १२ जना र विद्युत् गृह (पावर हाउस) क्षेत्रमा २०० भन्दा बढी कर्मचारीहरू उद्धारको पर्खाइमा रहेका छन्। आयोजना स्थलबाट पहिलो चरणको उद्धार कार्य सुरु भएको अपुष्ट खबर प्राप्त भए पनि पूर्ण विवरण आउन बाँकी छ।
यसैगरी, १११ मेगावाटको रसुवागढी आयोजनाका ५१ जना, मैलुङ खोला (५ मेगावाट) का ८ जना र लाङटाङ खोला (२० मेगावाट) आयोजनाको सुरुङभित्र थुनिएका २५ जना स्टाफ र ३५ जना कामदार गरी ६० जनाको अवस्था अझै अज्ञात रहेको छ। प्रभावित क्षेत्रमा सिनो हाइड्रोका शरण लिएर बसेका ३ चिनियाँ र २ नेपाली कामदारसहित धेरै श्रमिकहरू उद्धारको पर्खाइमा छन्। इप्पानले उद्धार तथा अनुगमनका लागि हेलिकप्टरको व्यवस्थापन गर्ने प्रयास भइरहेको र सुरक्षा निकायहरूसँग समन्वय गरी खोजी तीव्र पारिएको जनाएको छ।