काठमाडौँ । चीनतर्फ भोटेकोशी नदी थुनिएर बनेको प्राकृतिक ताल जुनसुकै बेला फुटेर पुनः भीषण बाढी आउन सक्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ। चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो विवरण, भू–उपग्रह (स्याटेलाइट) तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार हिजो भदौ १० गते बाढी सिर्जना भएको स्थानमा नदीको बहाव थुनिएर ताल बनेको पाइएको छ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज दिउँसो ४ः४६ बजे जारी गरेको विशेष अपडेटअनुसार रसुवागढी नाकाभन्दा करिब १८ किलोमिटर माथि तटीय क्षेत्रमा पर्ने ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई बनेको उक्त ताल अझै बढ्ने क्रममा रहेको छ। तालको प्राकृतिक बाँध फुटेर नदीमा एक्कासि ठूलो बाढी आउन सक्ने खतरा उच्च रहेकाले अर्को सूचना जारी नभएसम्म तल्लो तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन अपिल गरिएको छ।
यस अवस्थालाई ध्यानमा राख्दै महाशाखा तथा सुरक्षा निकायहरूले भोटेकोशी तथा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, खोजी तथा उद्धार कार्यमा खटिएका उद्धारकर्ता र सम्बन्धित सबैलाई नदी किनार एवम् जोखिमयुक्त क्षेत्रबाट तुरुन्त कबाभ तथा अग्लो स्थानमा रहन र उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्।