काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विपद् प्रभावित क्षेत्रमा राहत व्यवस्थापनसँगै सञ्चार सेवा तत्काल सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ ।
बिहीबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपद् प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क नहुँदा बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारमा समस्या भइरहेको बताए । उनले राहत वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन सबै पक्षलाई एउटै ‘वान डोर सिस्टम’मार्फत परिचालन गर्नुपर्ने धारणा राखे । साथै, प्रधानमन्त्री राहत कोषलाई थप प्रभावकारी र व्यापक बनाउँदै त्यसबारे पर्याप्त प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।
शाहीका अनुसार अहिलेको विपद्मा सबैभन्दा ठूलो चुनौती बेपत्ता भएकाहरूको खोजी तथा उद्धार बनेको छ । प्रभावित क्षेत्रमा मोबाइल नेटवर्कलगायतका सञ्चार सेवा अवरुद्ध हुँदा उनीहरूको अवस्थाबारे जानकारी लिनसमेत कठिन भइरहेको उनले बताए । उनले विपद्का बेला मृतकको शवबाट सुनलगायतका सामान निकाल्ने जस्ता अमानवीय गतिविधि भएको भन्दै त्यस्ता कार्यमा संलग्नलाई तत्काल पहिचान गरी कारबाही गर्न सरकारसँग आग्रह गरे ।यस्ता घटनाका भिडियो सार्वजनिक भइरहेकाले संलग्न व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने शाहीको भनाइ छ । यस्ता गतिविधिले नेपालको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठामा समेत नकारात्मक असर पार्ने उनले बताए ।