काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले रसुवाको रसुवागढी क्षेत्रमा आएको ठूलो बाढीबारे प्रारम्भिक जानकारी सार्वजनिक गरेका छन्।
उनले बाढीको कारणबारे उपलब्ध प्रारम्भिक सूचनाअनुसार नेपालतर्फ बिहान गएको भूकम्पले हिमपहिरो निम्त्याएको र त्यसपछि आएको पहिरो तथा लेदोले ठूलो क्षति पुर्याएको बताएका छन्। नेपाल टेलिभिजन (एनटीभी) वर्ल्डसँगको कुराकानीमा राजदूत झाङले घटनाबाट नेपाल र चीन दुवैतर्फ मानवीय क्षति भएको तथा केही व्यक्ति बेपत्ता रहेको जानकारी दिएका छन्। उनले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
राजदूतका अनुसार घटनालगत्तै चिनियाँ दूतावासले आपत्कालीन प्रतिक्रिया संयन्त्र सक्रिय गर्दै नेपालमा प्रभावित क्षेत्रमा रहेका चिनियाँ नागरिक तथा व्यवसायको अवस्थाबारे जानकारी संकलन गरेको थियो। दूतावासले नेपाली सरकार तथा सम्बन्धित निकायसँग समन्वय गर्दै उद्धार कार्यमा सहयोग पुर्याउन कार्यदलसमेत प्रभावित क्षेत्रमा पठाएको उनले बताए। चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि घटनालाई उच्च प्राथमिकता दिँदै बेपत्ताको खोजी तथा उद्धार, जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरण, घाइतेको उपचार र थप क्षति न्यूनीकरणलाई प्राथमिकता दिन निर्देशन दिएको राजदूतले उल्लेख गरेका छन्।
उनका अनुसार चीनका विदेश मन्त्रालय, जलस्रोत मन्त्रालय, मौसम प्रशासन, आपत्कालीन व्यवस्थापन मन्त्रालय तथा तिब्बत स्वायत्त क्षेत्रका सम्बन्धित निकायले नेपाली पक्षसँग समन्वय गरी विपद्को क्षति मूल्यांकन, खोज तथा उद्धार र आगामी कार्ययोजनाबारे काम गरिरहेका छन्। चीनले आफ्नोतर्फ पनि ठूलो क्षति व्यहोरेको अवस्थामा नेपाललाई आपत्कालीन सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाएको उनले बताएका छन्। भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि नेपाल र चीनबीच मौसम, जलविज्ञान तथा भौगर्भिक विपद्सम्बन्धी सूचना आदानप्रदान, पूर्वसूचना प्रणाली सुदृढीकरण, संयुक्त उद्धार तथा आपत्कालीन समन्वय र प्राविधिक तथा जनशक्ति क्षमता अभिवृद्धि गर्नुपर्नेमा राजदूतले जोड दिएका छन्। नेपाल र चीन हिमाल तथा नदीमार्फत जोडिएका निकट छिमेकी भएकाले प्राकृतिक विपद् व्यवस्थापनमा सहकार्यलाई थप मजबुत बनाउन चीन तयार रहेको उनको भनाइ छ।