काठमाडौँ। तिब्बततर्फबाट आएको बाढीका कारण भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा खोजी तथा उद्धार कार्य जारी छ।
खोजीका क्रममा हालसम्म ६४ वटा शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार फेला परेका शवमध्ये केही सकुशल अवस्थामा छन् भने केही मानव शरीरका अंगसमेत रहेका छन्। बरामद भएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार तनहुँमा फेला परेका ९ वटा शव पनि चितवन पठाइएको थियो।
तर, भरतपुरमा शव राख्ने ठाउँ अभाव भएपछि ती शव पुनः तनहुँ नै पठाइएको उनले जानकारी दिए। बाढीपछि हराइरहेका तथा बेपत्ता नागरिकको खोजीका लागि चितवनमा रहेका तीनवटै सुरक्षा निकाय परिचालन भएका छन्। सुरक्षा टोलीले त्रिशूली र नारायणी नदीका विभिन्न किनारमा खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्। बाढीका कारण नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेकाले अझै थप शव फेला पर्न सक्ने भन्दै खोजी कार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।