काठमाडौं । नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति जापानी प्रधानमन्त्री सानाए ताकाइचीले दुःख व्यक्त गरेकी छन्।
बाढीमा पाँच जना जापानी नागरिक बेपत्ता भएको खबरले आफू गम्भीर रूपमा चिन्तित भएको उनले बताएकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ताकाइचीले विपद्बाट प्रभावित नेपाली नागरिक तथा नेपाल सरकारप्रति समवेदना व्यक्त गरेकी छन्। उनले स्थानीय सञ्चारमाध्यममा पाँच जापानी नागरिक सम्पर्कविहीन भएको खबर आएको उल्लेख गर्दै उनीहरूको अवस्थाबारे चिन्ता व्यक्त गरेकी हुन्।
नेपालस्थित जापानी दूतावासले बेपत्ता नागरिकसँग सम्पर्क स्थापित गर्न प्रयास गरिरहेको पनि उनले जानकारी दिएकी छन्। साथै, ती नागरिकको अवस्था वा सुरक्षाबारे जानकारी भएका व्यक्तिलाई दूतावासमा खबर गर्न उनले आग्रह गरेकी छन्। दूतावासमा +९७७-१-४५२६-६८० नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ। प्रधानमन्त्री ताकाइचीले नेपालमा रहेका आफ्ना नागरिकसँगै नेपाली तथा अन्य विदेशी नागरिकको सुरक्षाको कामना गर्दै विपद्मा परेकाहरूको जीवन रक्षा होस् भन्ने प्रार्थना गरेकी छन्।