काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा चीनको तिब्बततर्फबाट प्रवेश गरेको भीषण बाढी तल्लो तटीय क्षेत्रसम्म फैलिएको सम्बन्धमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार चीनतर्फ नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा जोखिम अझै समाप्त भएको छैन। महाशाखाले नदी तटीय क्षेत्र र सम्भावित डुबान क्षेत्रका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित अग्लो स्थानमै रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार भदौ १० गते बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको केही समयमै (८ः५० बजे) भोटेकोशीको स्याफ्रुबेंसी जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त हुन बन्द भएको थियो। बिहान ९ः०० बजे तिब्बततर्फबाट ठूलो बाढी नेपाल प्रवेश गरेको सूचना प्राप्त हुनासाथ ९ः१५ बजेदेखि नै महाशाखाले पूर्वसूचना तथा सतर्कता सन्देश सम्प्रेषण सुरु गरेको थियो। महाशाखाले नेपाल टेलिकम र एनसेल मार्फत रसुवा, नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रका ६ लाख ७९ हजार २ सय ९५ भन्दा बढी नागरिकलाई ६ लाखभन्दा बढी क्ःक् पठाई पूर्वसूचना दिएकाले धेरै नागरिकले ज्यान जोगाउन सफल भएका छन्।
यो बाढी बिहान १०ः२८ बजे धादिङको गल्छी आसपास, ११ः५० बजे मलेखु, दिउँसो १ः०० बजे मुग्लिन पार गर्दै १५ः२० बजे नारायणी–देवघाट क्षेत्रमा पुगेको थियो। बाढीको विनाशकारी तीव्रताका कारण स्याफ्रुबेंसी, बेत्रावती र मलेखु (फुर्के) मा रहेका जलमापन केन्द्रका उपकरणहरू बाढीले बगाएको प्रतिवेदनमा उल्लेख छ। मलेखुको फुर्के केन्द्रमा बिहान ११ः४३ बजे जलसतहले खतरा तह पार गरेलगत्तै केन्द्रसहितको पुल बाढीले बगाएको थियो। त्यस्तै, धादिङको कालीखोला जलमापन केन्द्रमा दिउँसो २ः१४ बजे जलसतहले १२.१ मिटरको खतरा तह पार गरी अधिकतम १२.३ मिटरसम्म पुगेको रेकर्ड गरिएको थियो।
चितवनको देवघाट जलमापन केन्द्रमा दिउँसो ४ः०० बजे जलसतह उच्चतम बिन्दु ६.५७ मिटर र बहाव ५,८५० घनमिटर प्रतिसेकेन्ड (m³÷क) सम्म पुगेको थियो। देवघाट हुँदै पार भएको कुल ५७.४० मिलियन घनमिटर पानीमध्ये करिब १९.९६ मिलियन घनमिटर आयतन अतिरिक्त बाढीजन्य (भहअभकक) पानी रहेको गणना गरिएको छ। साँझ ६ः३० बजेसम्ममा देवघाटमा पानीको बहाव सामान्य अवस्था (करिब ४ मिटर) मा फर्किसकेको छ। यद्यपि, माथिल्लो क्षेत्रमा नदी थुनिएको स्थान अझै पूर्ण रूपमा सामान्य नभएको र वर्षाको सम्भावनासमेत रहेकाले जलमापन केन्द्रहरूबाट वास्तविक समयमा निरन्तर अनुगमन र विश्लेषण भइरहेको महाशाखाले जनाएको छ।