काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जसका कारण हाल कोशी प्रदेशमा अधिकांश बादल लाग्नुका साथै देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ। हाल कोशी प्रदेशका केही स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। दिउँसो हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। यसैगरी, कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी आज राति पनि देशभर साधारणतया बदली नै रहनेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।