काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूबिच राहत पु¥याउनका लागि नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन बराबरको राहत सामग्री पठाइएको छ। गृह मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने खाद्यान्न तथा अन्य बसोबासका सामग्री बोकेका सेनाका आठ वटा सवारीसाधनहरू बिहीबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्।
विपद्बाट पीडित नागरिकहरूका लागि पठाइएका राहत सामग्रीहरूमा ५०० थान मच्छरदानी, १ हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट तथा ३० केभीए क्षमताको एक थान जेनेरेटर रहेका छन्।
विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई थप चुस्त र प्रभावकारी बनाउन मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको जनाएको छ। बाढी प्रभावित स्थानहरूमा तत्कालका लागि आवश्यक सामग्रीहरू पु¥याइसकेपछि अवस्थाको निरन्तर अनुगमन गरी आवश्यकताअनुसार थप राहत सामग्री पठाउने तयारीसमेत भइरहेको गृह मन्त्रालयले स्पष्ट पारेको छ।