काठमाडौँ । रसुवा जिल्लामा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको भदौ १० गते राति ११ः०५ बजेसम्मको अद्यावधिक विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा खटिएका विभिन्न प्रहरी इकाईका २८ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन्। प्रभावित क्षेत्रमा तीव्र गतिमा खोज तथा उद्धार कार्य सञ्चालन गर्न हालसम्म ३ हजार ३१८ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ।
प्रहरी कार्यालयहरूबाट प्राप्त तथ्याङ्कअनुसार इलाका प्रहरी कार्यालय टिमुरेका २३ मध्ये १३ जना, प्रहरी चौकी रसुवागढीका ९ मध्ये १ जना, प्रहरी चौकी स्याफ्रुबेसीका ८ मध्ये ५ जना तथा अस्थायी प्रहरी पोस्ट मैलुङका ८ मध्ये ३ जना मात्र सम्पर्कमा आएका छन्। यसैगरी प्रहरी चौकी बेत्रावतीका १० मध्ये ९ जना र प्रहरी चौकी हाकुका ६ मध्ये ५ जना प्रहरी कर्मचारी सम्पर्कमा आए पनि बाँकी २८ जनाको अवस्था अझै अज्ञात रहेको छ।
बाढीका कारण देशका विभिन्न जिल्लाहरूमा हालसम्म कुल १५७ वटा शव फेला परेको प्रहरीले पुष्टि गरेको छ। फेला परेका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा ६४ वटा रहेका छन् भने धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ वटा शव संकलन गरिएको छ।
बाढीबाट गम्भीर घाइते भएका ४१ जना नागरिकहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। घाइतेहरूमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २० जना, त्रिशूली अस्पतालमा ९ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना, नर्भिक अस्पतालमा ३ जना तथा वीरेन्द्र सैनिक अस्पताल र ग्रिन सिटी अस्पतालमा १÷१ जनाको उपचार भइरहेको छ। प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य निरन्तर जारी छ।