काठमाडौँ । रसुवा र नुवाकोट क्षेत्रबाट हाल निरन्तर रूपमा थप ठूलो बाढी आउन लागेको भन्ने विभिन्न हल्ला, सूचना तथा फोन सम्पर्कहरू प्राप्त भइरहेको सन्दर्भमा गृह प्रशासन तथा सम्बन्धित निकायहरूले त्यस्ता खबरहरू निराधार रहेको स्पष्ट पारेका छन्। हालसम्म प्राप्त आधिकारिक सूचना तथा प्रारम्भिक मौसमी विश्लेषणअनुसार उक्त क्षेत्रमा वर्षा जारी रहेकाले नदीको पानीको बहाव केही बढ्न सक्ने देखिए तापनि हालसम्म थप ठूलो बाढी आउने कुनै पनि आधिकारिक वा विश्वसनीय आधार प्राप्त नभएको जनाइएको छ।
प्रशासनले सर्वसाधारण नागरिकहरूलाई अपुष्ट सूचना, भ्रामक खबर तथा अफवाहको पछि नलाग्न विशेष आग्रह गरेको छ। आज बिहानको बाढीबाट प्रभावित स्थानभन्दा बाहिर सुरक्षित स्थानमा रहेका नागरिकहरूका लागि हाललाई थप ठूलो बाढी आउने सम्भावना नरहेकाले अनावश्यक रूपमा नआत्तिन र संयमित भई सुरक्षित रहन अनुरोध गरिएको छ।
यसैबिच, आगामी समयमा माथिल्लो तटीय क्षेत्र वा सीमापारिबाट नेपालतर्फ कुनै ठूलो बाढी प्रवेश गर्ने जोखिम वा अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरिने जनाइएको छ। कुनै पनि खतराको अवस्था सिर्जना भएमा एसएमएस (क्ःक्) लगायत उपलब्ध अन्य सञ्चार माध्यमहरूबाट यथाशीघ्र आधिकारिक पूर्वसूचना सम्प्रेषण गरिने भएकाले आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार मान्न गृह मन्त्रालय र स्थानीय प्रशासनले अनुरोध गरेका छन्।