काठमाडौँ । भारत सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूका लागि १० टन बराबरको मानवीय सहायता तथा अत्यावश्यक राहत सामग्री नेपाल पठाएको छ। नेपालमा जारी उद्धार तथा राहत प्रयासमा सहयोग पु¥याउने उद्देश्यले भारतले उद्धार सामग्री तथा अत्यावश्यक औषधिहरू हस्तान्तरण गरेको भारतीय विदेशमन्त्री एस जयशंकरले जानकारी दिएका छन्।
भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल फेसबुकमार्फत भारत सरकारका तर्फबाट राहत सहायता सामग्री पठाइएको सार्वजनिक गरेका हुन्। यसका साथै भारत सरकारले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना प्रकट गर्दै सम्पूर्ण प्रभावित परिवारजनप्रति ऐक्यबद्धता एवं सद्भाव व्यक्त गरेको छ।
विदेशमन्त्री जयशंकरले प्राकृतिक विपत्तिको यस चुनौतीपूर्ण र कठिन घडीमा भारत सदैव छिमेकी मित्रराष्ट्र नेपाल र नेपाली जनताको साथमा रहेको प्रतिबद्धतासमेत दोहो¥याएका छन्। हस्तान्तरण गरिएका राहत तथा औषधि सामग्रीहरूलाई तत्काल प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको छ।