काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बगेका मानिसहरू मध्ये ४८ जनाको शव चितवन क्षेत्रमा फेला परेको छ। चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार चितवनको सिमानाभित्र पर्ने त्रिशूली नदी र नारायणी नदीका विभिन्न किनारबाट खटिएका सुरक्षाकर्मीहरूले ती शवहरू बाहिर निकालेका हुन्।
रसुवाबाट सुरु भएको बाढीको तीव्र बहाव त्रिशूली हुँदै नारायणी नदीसम्म आइपुगेपछि जिल्लाको सुरक्षा निकाय र प्रहरी प्रशासन हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि उच्च सतर्कताका साथ परिचालन गरिएको थियो। प्रहरी टोलीले देवघाटभन्दा माथिल्लो र तल्लो तटीय क्षेत्रका विभिन्न स्थानबाट शवहरू संकलन गरेको छ। रातको समयमा नदीमा बाढीको बहाव अझै धेरै रहेकाले साँझपछि खोजी कार्य स्थगित गरिएको र बिहीबार बिहान उज्यालो हुनासाथ पुनः खोजी तथा उद्धार कार्य सुरु गरिने प्रहरीले जनाएको छ।
एकैपटक ठूलो सङ्ख्यामा फेला परेका शवहरूको व्यवस्थापन अहिले स्थानीय प्रशासनका लागि ठूलो चुनौती बनेको छ। हालसम्म संकलन गरिएका शवहरूलाई भरतपुर अस्पतालमा राखिएको भए पनि ३० भन्दा बढी शव एकैपटक व्यवस्थापन गर्न संरचनागत समस्या भएपछि जिल्ला प्रशासन तथा प्रहरीले शव राख्न र व्यवस्थापनका लागि वैकल्पिक स्थानको खोजी गरिरहेको छ।