काठमाडौँ । रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाहरूमा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा कामदारहरू सम्पर्कविहीन बनेका छन्। नेपाल विद्युत् प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार बाढीमा परी नेपालीका साथै वैदेशिक रोजगारीमा रहेका विदेशी कामदारहरू समेत सम्पर्क बाहिर पुगेका हुन्।
विद्युत् प्राधिकरणका अनुसार निर्माणाधीन त्रिशूली ३ ‘बी’ को साइटमा कार्यरत २१ जना, चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट र आवास क्षेत्रका ७ जना, तथा चेस्को कम्पनीमार्फत त्रिशूली ३ ’बी’ मा खटिएका ११ जना कर्मचारीहरू सम्पर्कविहीन भएका छन्। यसैगरी, त्रिशूली ३ ‘ए’ को पावर हाउसमा मर्मत कार्यमा संलग्न ४५ जना, त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रका १÷१ जना, रसुवा वितरण केन्द्रका मिटर रिडरसहित २ जना, त्रिशूली २२० केभी हबका १६ जना तथा रसुवागढी जलविद्युत् केन्द्रमा निर्माण र मर्मतमा खटिएका ९२ जना कामदारहरूसँग हालसम्म सम्पर्क हुन सकेको छैन।
आयोजनास्थलमा ठूलो सङ्ख्यामा कर्मचारीहरू सम्पर्कविहीन भएपछि नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठ नेतृत्वको टोली अनुगमनका लागि प्रभावित क्षेत्रमा पुगेको छ। श्रेष्ठका अनुसार जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणको उद्धार र सुरक्षित स्थानान्तरणका लागि प्राधिकरणको विशेष टोली घटनास्थलमा खटाइएको छ। हराइरहेकाहरूको खोजीका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी द्रुत गतिमा काम भइरहेको प्राधिकरणले जनाएको छ।