काठमाडौँ । नुवाकोटमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार सुरक्षाकर्मीको टोलीले उद्धारका क्रममा संकलन गरेर ल्याएका चारवटा शव फेला परेका हुन्।
प्रजिअ रेग्मीले खोलाको बहाव उच्च रहेकाले भित्रै गएर थप शव खोजबिन तथा संकलन गर्ने अवस्था अहिले नरहेको जानकारी दिएका छन्। खोलाको किनारमा फेला परेका र उद्धारका क्रममा भेटिएका शवहरू मात्र संकलन गरी ल्याइएको उनले स्पष्ट पारे।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म कुल ५९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरू मध्ये चार जना मृत अवस्थामा फेला परेका हुन् भने ५५ जनाको जीवितै उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।
यसअघि बाढीका कारण पाँच जनाको मृत्यु भएको समाचार सार्वजनिक भए पनि हालसम्म जिल्ला प्रशासनले आधिकारिक रूपमा चारवटा शव फेला परेको पुष्टि गरेको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मीहरूको टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।