काठमाडौँ । रसुवामा आएको भीषण बाढीबाट प्रभावित भएका नागरिकहरूको उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी कुल १५ वटा हेलिकप्टरहरू परिचालन गरिएको छ। उद्धार कार्यलाई तीव्र र प्रभावकारी बनाउन नेपाली सेनाका ७ वटा र निजी क्षेत्रका ८ वटा हेलिकप्टरहरू निरन्तर खटिरहेको नेपाली सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको उद्धार अभियानमार्फत नेपाली सेनाका हवाई साधनबाट मात्रै हालसम्म ९७ जनाको सफल उद्धार गरिसकिएको छ। प्रभावितहरूको खोज तथा उद्धार कार्यलाई थप व्यवस्थित र चुस्त बनाउन हेलिकप्टरमार्फत उद्धार उडानहरू निरन्तर जारी राखिएको छ।
उद्धार गरिएका घाइतेहरूको तत्काल उपचारका लागि वीरेन्द्र अस्पतालबाट खटिएको विशेषज्ञ मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आपत्कालीन स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। यसका साथै विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पतालको सेटसहित आवश्यक मेडिकल सामग्री, औषधि तथा स्वास्थ्य उपकरणहरू समेत त्रिशूलीतर्फ पठाइसकिएको नेपाली सेनाले जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित बनाउँदै आवश्यकता अनुसार स्वास्थ्य उपचार र मानवीय सहायता उपलब्ध गराउने काम भइरहेको छ।