काठमाडौँ। बुधबार राति रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोकलगायतका जिल्लाहरूमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको पछिल्लो मौसमी बुलेटिनअनुसार ती जिल्लाहरूका एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
हाल मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न भागमा मौसमी प्रतिकूलता देखिएकाले वर्षाको जोखिम उच्च रहेको महाशाखाले जनाएको छ। सम्भावित भारी वर्षाका कारण नदी तथा खोलाहरूमा बहाव बढ्न सक्ने र पहाडी भूभागमा पहिरोको जोखिम रहने भएकाले प्रभावित क्षेत्रमा जारी रहेका खोज तथा उद्धारका कार्यहरूमा विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित सबै निकाय तथा सर्वसाधारणमा आग्रह गरेको छ।