काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान भीषण बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर कम्पनीहरूले तीव्र गतिमा हवाई उद्धार कार्य सञ्चालन गरी कुल ११४ जनाको सकुशल उद्धार गरेका छन्। बाढीका कारण प्रभावित क्षेत्रमा फसेका नागरिक तथा घाइतेहरूलाई सुरक्षित स्थान र अस्पताल पु¥याउन सेना र निजी वायुसेवा प्रदायकहरूले बिहानैदेखि उडान भरेका हुन्।
उद्धार कार्यका क्रममा नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीहरूले २९ जनालाई सुरक्षित स्थानमा पु¥याएका छन्। नेपाली सेनाको हेलिकप्टरले रसुवाको टिमुरेबाट धुन्चेसम्म ६० जना, टिमुरेबाट त्रिशूलीसम्म १३ जना, मैलुङमा ५ जना, बेत्रावतीमा ४ जना र त्रिशूलीबाट काठमाडौँसम्म ३ जना गरी कुल ८५ जनाको हवाई उद्धार गरेको छ।
यसैगरी निजी क्षेत्रतर्फ कैलाश हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा ५ जना, सिम्रिक एयरले रसुवाबाट ३ जना र अन्नपूर्ण हेलिकोप्टरले रसुवाबाट टिचिङ अस्पतालमा ४ जनाको उद्धार गरेका छन्। त्यसैगरी प्रभु हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा ५ जना र वीर अस्पतालमा २ जना, सिम्रिकले थप २ जना, फिसटेल एयरले ५ जना तथा एभरेष्ट हेलिकोप्टरले २ जना घाइते तथा प्रभावितहरूलाई काठमाडौँका शिक्षण र वीर अस्पताल पु¥याएका छन्। उद्धार कार्य निरन्तर जारी रहेको र प्रभावित क्षेत्रमा थप टोली परिचालन गरिएको जनाइएको छ।