काठमाडौं । चीनतर्फ भएको अविरल वर्षापछि भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार दुई जिल्लाका १३ वटा जलविद्युत आयोजनामा बाढीको प्रत्यक्ष प्रभाव परेको छ।
जल तथा मौसम विज्ञान विभाग, नेपाल विद्युत प्राधिकरण (नेविप्रा) र ऊर्जा प्रवद्र्धक कम्पनीहरूबाट प्राप्त विवरणअनुसार बाढीबाट कुल ७४८.१२ मेगावाट क्षमताका आयोजना प्रभावित भएका छन्। त्यसमध्ये सञ्चालनमा रहेका ८ आयोजनाको ३५४.१ मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको छ भने ३९४ मेगावाट क्षमताका ५ निर्माणाधीन आयोजनाका संरचनामा क्षति पुगेको छ। नदीमा आएको अत्यधिक बालुवा, लेदो र पानीको सतह बढेपछि सञ्चालनमा रहेका आयोजना तत्काल बन्द गर्नुपरेको हो। रसुवामा निजी क्षेत्रबाट सञ्चालित १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन खोला, २२ मेगावाटको चिलिमे र २० मेगावाटको लाङटाङ खोला गरी २३१ मेगावाट विद्युत उत्पादन रोकिएको छ।
यस्तै, नुवाकोटमा नेपाल विद्युत प्राधिकरणअन्तर्गतका ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए, २४ मेगावाटको त्रिशूली, १४.१ मेगावाटको देवीघाट र २५ मेगावाटको नुवाकोट ग्रिड सोलार आयोजनाको कुल १२३.१ मेगावाट उत्पादन प्रभावित भएको छ। एकैपटक ३५४ मेगावाटभन्दा बढी विद्युत उत्पादन रोकिँदा काठमाडौं उपत्यका तथा आसपासका औद्योगिक क्षेत्रमा विद्युत व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। निर्माणाधीन आयोजनातर्फ पनि बाढीले उल्लेख्य क्षति पुर्याएको छ। रसुवामा निर्माण भइरहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ को पहुँचमार्ग, एडिट टनेल र साइट क्याम्पमा ठूलो क्षति भएको छ। त्यस्तै, १२० मेगावाटको रसुवा–भोटेकोशी र ६.४२ मेगावाटको माथिल्लो मैलुङ–ए आयोजनाको बाँध तथा पेनस्टक संरचनामा समेत क्षति पुगेको छ। रसुवामा मात्रै निर्माणाधीन तीन आयोजनाको ३४२.४२ मेगावाट क्षमता प्रभावित भएको प्रारम्भिक विवरण छ। नुवाकोटतर्फ ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी र १५.६ मेगावाटको मिडल त्रिशूली गंगा आयोजनामा बाढी पस्दा सिभिल संरचना तथा निर्माण सामग्रीमा क्षति पुगेको छ। यी दुई आयोजनाको कुल ५२.६ मेगावाट क्षमता प्रभावित भएको छ।
प्रारम्भिक तथ्यांकअनुसार बाढीको प्रभाव निजी क्षेत्रका आयोजनामा बढी परेको देखिन्छ। प्रभावित १३ आयोजनामध्ये ९ वटा निजी क्षेत्रका रहेका छन्, जसको कुल क्षमता ६२५ मेगावाट अर्थात् ८३.५ प्रतिशत हो। नेपाल विद्युत प्राधिकरणअन्तर्गतका चार आयोजनाको १२३.१ मेगावाट अर्थात् १६.५ प्रतिशत क्षमता प्रभावित भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रका जलविद्युत आयोजनामा मात्रै ५ अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ। बाढी र पहिरोका कारण त्रिशूली–काठमाडौं प्रसारण लाइन तथा स्याफ्रुबेँसी–रसुवागढी जोड्ने पासाङल्हामु राजमार्गका विभिन्न स्थानमा अवरोध सिर्जना भएको छ। सडक अवरुद्ध हुँदा आयोजनास्थलमा प्राविधिक टोली र आवश्यक हेभी उपकरण पुर्याउन समेत कठिनाइ भइरहेको छ। लाङटाङ खोला आयोजनाका दुईवटा प्रसारण टावर ढलेका छन् भने माथिल्लो त्रिशूली–३एको स्विचयार्ड नजिकैको डाँडो भासिएपछि तत्काल रोकथामको काम अघि बढाइएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार पहिरो हटाउने तथा नदीको सतह घट्नेबित्तिकै आकस्मिक मर्मतको काम अघि बढाइनेछ। अवस्था अनुकूल रहेमा सञ्चालनमा रहेका आयोजनाबाट एकदेखि तीन साताभित्र क्रमशः विद्युत उत्पादन पुनः सुरु गर्ने तयारी गरिएको छ।