काठमाडौँ । आज त्रिशूली नदी आसपासमा भीषण बाढी तथा पहिरो आउन सक्ने सम्भावना रहेकाले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने त्रिशूली नदी आसपासका बासिन्दालाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदीबाट टाढा सुरक्षित स्थानमा जान अनुरोध गरिएको हो। त्रिशूली नदी आसपासका बासिन्दालाई समयमै सचेत रहन तथा जोखिमयुक्त क्षेत्रमा नबस्न आग्रह गरिएको छ। पहाडी क्षेत्रमा अपेक्षा गरिएभन्दा ठूलो बाढी आउन सक्ने सम्भावना रहेकाले नदी किनारमा बसोबास गर्नेहरूलाई विशेष सतर्कता अपनाउन र सम्भावित विपद्बाट जोगिन सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ। चीनतर्फको क्षेत्रमा अचानक आएको ठूलो बाढी भोटेकोशी नदी हुँदै रसुवाको टिमुरे र स्याफ्रुबेसी क्षेत्रमा प्रवेश गर्दा ठूलो क्षति भएको छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे र वडा नम्बर ५ को स्याफ्रुबेसी क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ। उनका अनुसार बाढीको बहाव अत्यन्तै ठूलो र अकल्पनीय रहेको छ। अचानक आएको बाढीका कारण टिमुरे भन्सार कार्यालय क्षेत्रमा समेत क्षति पुगेको बताइएको छ। भन्सार विभागका महानिर्देशक खेमलाल भुसालका अनुसार टिमुरे क्षेत्रमा बाढी आएको जानकारी त्यहाँ कार्यरत कर्मचारीले बिहान करिब ८ बजे गराएका थिए। बाढीपछि कार्यालयमा रहेका केही कर्मचारी सम्पर्कमा आए पनि अन्य कर्मचारीसँग सम्पर्क हुन नसकेको उनले बताएका छन्। उनका अनुसार हालसम्म ६–७ जना कर्मचारी सम्पर्कमा आएका छन् भने अन्यको अवस्थाबारे जानकारी आउन बाँकी छ। सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले भोटेकोशीको तल्लो तटीय क्षेत्रमा समेत सम्भावित जोखिमबारे जानकारी गराइएको बताएका छन्। नुवाकोट र धादिङ प्रशासनलाई पनि यसबारे जानकारी गराइसकिएको उनले बताए।