काठमाडौँ । पाथिभरा माता बनेर महिलामाथि कुटपिट तथा दुर्व्यवहार गर्ने सुर्खेतका एक युवक पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत सुर्खेतका न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले मुख्य अभियुक्तलाई थुनामा पठाउने आदेश दिएको हो।
वीरेन्द्रनगर नगरपालिका–३ का २४ वर्षीय समीर थापा आफूलाई ‘पाथिभरा माता’ दाबी गर्दै लामो समयदेखि झारफुक तथा माताको काम गर्दै आएका थिए। केही समयअघि थापाले एक महिलालाई गालीगलौज गर्दै अमर्यादित रूपमा कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त भिडियो सार्वजनिक भएलगत्तै सुर्खेत प्रहरीले थापालाई साउन १३ गते नियन्त्रणमा लिएको थियो।
जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वलदेव रावलका अनुसार थापासहित घटनाको भिडियो खिच्ने व्यक्तिविरुद्ध गत साउन ८ गते बोक्सी आरोपसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो। थुनछेक बहसपछि अदालतले मुख्य अभियुक्त थापालाई मुद्दाको पुर्पक्षका लागि कारागार चलान गर्न र घटनाको भिडियो खिचेर सहयोग गर्ने अर्का व्यक्तिलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।