काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न चारवटा प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले दिउँसो तथा रातिको समयमा वर्षाको सम्भावना बढेको हो।
विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। दिउँसोको समयमा कोसी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यसका साथै कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा र मधेस, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी रातिको समयमा पनि देशभर पूर्णतया बदली रहनेछ। राति कोसी प्रदेशको हिमाली र पहाडी भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।