काठमाडौं । दक्षिणपश्चिमी फ्रान्सको पोमास गाउँमा आएको शक्तिशाली टोर्नाडोका कारण ठूलो भौतिक क्षति भएको छ।
आँधीले करिब ३ सय घरमा क्षति पुर्याउनुका साथै ४१ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनालाई उपचारका लागि अस्पताल लगिएको स्थानीय अधिकारीहरूले बताएका छन्।करिब एक हजार मानिसको बसोबास रहेको पोमासमा टोर्नाडोले घरका छाना उडाउनुका साथै विभिन्न संरचनामा क्षति पुर्याएको छ। उद्धार तथा राहतका लागि १ सय २० भन्दा बढी आपत्कालीन कर्मचारी परिचालन गरिएको छ। घरमा क्षति पुग्दा एक गर्भवती महिला घाइते भएको उनका श्रीमान्ले बताएका छन्।आँधीबेहरीका कारण दक्षिणपश्चिमी फ्रान्सका केही क्षेत्रमा विद्युत् आपूर्ति र यातायात सेवा समेत प्रभावित भएका छन्। खराब मौसमको पूर्वानुमानपछि सम्बन्धित क्षेत्रमा उच्च सतर्कता अपनाउन अधिकारीहरूले यसअघि नै आग्रह गरेका थिए।खराब मौसमकै कारण अडे विभागमा जारी ‘भोल्टा ए एस्पाना’ साइकल दौडको तेस्रो चरणसमेत रद्द गरिएको छ। असिना पर्न थालेपछि साइकल चालकहरूले सुरक्षित स्थानमा आश्रय लिनुपरेको थियो।फ्रान्सको राष्ट्रिय मौसम सेवा मेटिओ–फ्रान्सका अनुसार पोमास नजिकैको आर्केट्स–एन–भ्याल गाउँमा हावाको गति प्रतिघण्टा ११७ किलोमिटरसम्म पुगेको थियो।यातायातमन्त्री फिलिप टबारोटका अनुसार आँधीका कारण रेल सेवा प्रभावित हुनुका साथै विभिन्न सडक बन्द भएका छन्। बोर्दो, मार्सेइ, नाइस र टुलुजलगायतका विमानस्थलमा समेत उडान ढिला तथा रद्द भएका छन्।अधिकारीहरूका अनुसार करिब १० गाउँका दुई हजार आठ सय घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। प्रभावित क्षेत्रमा उद्धार, क्षतिको मूल्याङ्कन र विद्युत् सेवा पुनःस्थापनाको काम भइरहेको छ।फ्रान्समा हरेक वर्ष औसतमा दर्जनौँ टोर्नाडो आउने गरेको मेटिओ–फ्रान्सले जनाएको छ। यस्ता मौसमी घटनाको आवृत्ति र तीव्रतामा जलवायु परिवर्तनको प्रभाव कति छ भन्ने विषयमा भने अझै स्पष्ट निष्कर्ष नआएको मौसम सेवाको भनाइ छ।