काठमाडौं । रुस–युक्रेन युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासबीच अमेरिकाले युक्रेनसमक्ष नयाँ प्रस्ताव राखेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्। उनका अनुसार अमेरिकाले युक्रेनलाई नेटोको सदस्यता दिने बदलामा पूर्वी क्षेत्र डोनबास रुसलाई छाड्न सकिन्छ कि भनेर प्रस्ताव गरेको हो।
शनिबार सार्वजनिक वक्तव्यमा जेलेन्स्कीले अमेरिकी प्रतिनिधिहरूले पहिलोपटक यस्तो विकल्पबारे छलफल गरेको बताएका हुन्। अमेरिकी पक्षले नेटो सदस्यता सुनिश्चित भए डोनबासबाट पछि हट्न युक्रेन तयार हुन्छ कि हुँदैन भनेर सोधेको उनको भनाइ छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जेरेड कुसनर र स्टिभ विटकफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा जेलेन्स्कीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। त्यसअघि अबुधाबीमा रुस र युक्रेनका प्रतिनिधिबीच दुई दिनसम्म भएको वार्ताले भने ठोस निष्कर्ष निकाल्न सकेको थिएन।
युक्रेन लामो समयदेखि नेटो सदस्यताका लागि प्रयासरत छ। तर रुसले नेटोको पूर्वतर्फ विस्तारलाई आफ्नो सुरक्षाका लागि खतरा मान्दै आएको छ।
जेलेन्स्कीले पश्चिमी देशहरूसँग युक्रेनको सुरक्षा प्रत्याभूतिबारे छलफल भइरहेको बताएका छन्। कुनै पनि शान्ति सम्झौतामा युक्रेनी जनताको निर्णय अन्तिम हुने र रुसको नियन्त्रणमा रहेका भूभागलाई रुसी क्षेत्रका रूपमा मान्यता नदिने उनको अडान छ।
यसैबीच, आगामी शान्ति वार्तामा युरोपेली देशहरूलाई पनि सहभागी गराउने तयारी भएको छ। फ्रान्स, जर्मनी, इटाली, बेलायत र पोल्यान्डले युरोपको प्रतिनिधित्व गर्ने बताइएको छ।
उता, शान्ति प्रयास जारी रहे पनि रुसले युक्रेनमाथिको आक्रमण रोकेको छैन। शनिबार पूर्वी सहर पाभ्लोह्राद र जापोरिज्जिया नजिकैको गाउँमा भएका रुसी हमलामा केही मानिसको मृत्यु भएको जनाइएको छ।
अमेरिकी विशेष दूत कुसनरले युद्ध अन्त्यका लागि नयाँ विकल्पमाथि छलफल भइरहेको बताएका छन्। यद्यपि, डोनबाससम्बन्धी अमेरिकी प्रस्तावबारे अमेरिकी प्रशासन र नेटोले जेलेन्स्कीको दाबीमा औपचारिक प्रतिक्रिया दिएका छैनन्।