काठमाडौं । बंगलादेशमा प्रतिबन्धित अवामी लिगका नेता, कार्यकर्ता र समर्थकले गोपालगञ्जमा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा सरकारी संरचनामा तोडफोड, आगजनी र सडक अवरुद्ध गर्ने गतिविधि भएका छन्।
स्थानीय पत्रकारका अनुसार दिनभर चलेको प्रदर्शनमा सहभागी केही व्यक्तिले लाठी र धारिला हतियारसमेत बोकेका थिए।
बीबीसी बंगलाका अनुसार प्रदर्शनकारीले जिल्ला अवामी लिगको कार्यालय कब्जा गर्नुका साथै सहरको लन्चघाट क्षेत्रमा रहेको जुलाई स्मारकमा आगजनी गरेका छन्। उनीहरूले प्रहरीको एउटा गाडीसमेत जलाएका छन्।
प्रदर्शनका क्रममा गोपालगञ्ज सरकारी कलेजको नामपाटी हटाएर ‘सरकारी बंगबन्धु कलेज’ लेखिएको ब्यानर राखिएको थियो। सन् २०२४ को विद्यार्थी आन्दोलनपछि शेख हसिनाको सरकार ढलेसँगै उक्त कलेजको नाम परिवर्तन गरी गोपालगञ्ज सरकारी कलेज राखिएको थियो।
त्यस्तै, गोपालगञ्ज विज्ञान तथा प्रविधि विश्वविद्यालयस्थित हादी चत्तरको नामपाटी पनि तोडफोड गरिएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा प्रदर्शनकारीले प्रहरीको उपस्थितिमै र्याली निकाल्नुका साथै सडक अवरुद्ध गरेको देखिन्छ। घटनाबारे जिल्ला प्रहरीले भने कुनै प्रतिक्रिया दिएको छैन।
सन् २०२४ को विद्यार्थी आन्दोलनपछि सत्ताच्युत भएकी शेख हसिनाको नेतृत्वमा रहेको अवामी लिगका गतिविधिमाथि बंगलादेश सरकारले प्रतिबन्ध लगाएको छ।