काठमाडौं । विगतमा सरकार र चिकित्सा शिक्षा आयोगसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै एमबिबिएस तथा बिडिएस इन्टर्न चिकित्सकहरूले पुनः आमरण अनशनमा बस्ने चेतावनी दिएका छन्।
‘एमबिबिएस/बिडिएस इन्टर्न स्टाइपेन्ड मुभमेन्ट नेपाल’ का संयोजक डिल्ली हरिजनले मंगलबार विज्ञप्ति जारी गर्दै सहमति कार्यान्वयनमा अझै ढिलाइ गरिए आन्दोलनमा उत्रिन बाध्य हुने बताएका हुन्। गत साउन २२ गते अनशनरत हरिजन र सरकारी वार्ता टोलीबीच भएको सहमतिअनुसार चिकित्सा शिक्षा आयोगको बैठकबाट आवश्यक निर्णय गरी कार्यान्वयनमा लैजानुपर्ने भए पनि १६ दिन बितिसक्दा समेत त्यसतर्फ कुनै ठोस प्रगति नभएको उनीहरूको भनाइ छ।
इन्टर्न चिकित्सकहरूको मुख्य माग जीवन निर्वाह भत्ता वृद्धि रहेको छ। यसअघि गठित कार्यदलले पनि अस्पतालमा अनिवार्य सेवा, रात्रिकालीन ड्युटी तथा अतिरिक्त कार्यबोझलाई ध्यानमा राख्दै इन्टर्न चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तहको सुरुआती तलब स्केलको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउन सिफारिस गरेको थियो। हालको महँगी तथा आवास, खाना र यातायातमा हुने खर्चलाई समेत ध्यानमा राखेर उक्त सिफारिस तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ। त्यस्तै, नेपालको श्रम ऐन, २०७४ अनुसार आवासीय तथा इन्टर्न चिकित्सकको कार्यघण्टा सम्बन्धी व्यवस्था सरकारी र निजी दुवै शिक्षण संस्थामा समान रूपमा लागू गर्नुपर्ने माग उनीहरूले अघि सारेका छन्।
निजी मेडिकल कलेजहरूले विभिन्न शीर्षकमा लिँदै आएको अतिरिक्त शुल्क हटाई सरकारले तोकेको शुल्क मात्र लिनुपर्ने र त्यसको प्रभावकारी अनुगमन गर्नुपर्ने उनीहरूको माग छ। साथै, विद्यार्थीका लागि छात्रावास अनिवार्य नगरी वैकल्पिक वा ऐच्छिक व्यवस्था गर्नुपर्ने पनि उनीहरूले बताएका छन्। यसअघि सम्बन्धित पदाधिकारीको अभावका कारण निर्णय प्रक्रिया रोकिएको बताइए पनि अहिले आवश्यक पदाधिकारीहरू नियुक्त भइसकेको अवस्थामा समेत निर्णयमा ढिलाइ हुनु दुःखद् भएको इन्टर्न चिकित्सकहरूको भनाइ छ। आफ्ना मागबारे अब थप बहाना नगरी चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकबाट स्पष्ट निर्णय गर्न सरकार, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित विश्वविद्यालयका पदाधिकारीलाई उनीहरूले आग्रह गरेका छन्। माग सम्बोधन गर्नुको सट्टा विगतमा जस्तै निर्णय प्रक्रियालाई लम्ब्याउने वा विषय एक निकायबाट अर्को निकायमा सार्ने काम भए जुनसुकै बेला पुनः आमरण अनशन सुरु गर्न बाध्य हुने चेतावनी संयोजक हरिजनले दिएका छन्।