काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल छातीमा समस्या देखिएपछि उपचारका लागि महाराजगञ्जस्थित अस्पताल पुगेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सोमबार साँझदेखि उनको स्वास्थ्य जाँच भइरहेको छ।
अस्पताल स्रोतका अनुसार सोमबार साँझ ७ः३० बजे सभामुख अर्याल अस्पताल पुगेर उपचार सुरु गरेका थिए। मुटुको रक्तनलीमा कुनै किसिमको अवरोध (ब्लकेज) वा साँघुरोपन छ कि भनेर परीक्षण गर्न चिकित्सकहरूले उनको ‘सिटी कोरोनरी एन्जियोग्राफी’ गरेका छन्।
उनी हाल अस्पतालको आकस्मिक कक्षमा चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचाररत रहेका छन्। एन्जियोग्राफी परीक्षणको विस्तृत रिपोर्ट आउन बाँकी रहेकाले रिपोर्ट प्राप्त भएपछि मात्र मुटुको स्थिति अनुसार थप उपचार प्रक्रिया अघि बढाउने अस्पताल स्रोतले जनाएको छ।
यता सभामुख अर्यालकी प्रेस संयोजक मुना कुँवरले भने उनी नियमित स्वास्थ्य परीक्षणका लागि मात्र अस्पताल गएको दाबी गरेकी छन्। उनले कुनै जटिल समस्या भएर नभई होलबडी चेकअपका लागि अस्पताल गएको र सोमबार नै घर फर्किने जानकारी दिइन्।