काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले विदेशी स्याउको आयात तत्काल रोक्न माग गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा विदेशी स्याउको अयात रोक्न आह्वान गरेका छन् । उलने स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिन नेपाल सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र कृषि मन्त्रीको ध्यान ध्यानाकर्षण गराउँदै उनले स्वदेशी किसानले आफ्नो उत्पादनको उचित बजार र मूल्य पाउन नसकेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
विगतको केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा पनि आफूहरूले विदेशी स्याउ आयात रोक्न आवाज उठाएको स्मरण गराउँदै शाहीले सरकारले ठोस कदम नचाल्दा वैदेशिक मुद्रा बाहिरिने क्रम जारी रहेको बताएका छन्। उनका अनुसार आर्थिक वर्ष २०८२÷८३ को पहिलो १० महिनामा मात्रै नेपालले करिब ११ अर्ब १४ करोड रुपैयाँ बराबरको स्याउ विदेशबाट आयात गरेको उल्लेख गरेका छन् ।
एकातिर अर्बौँ रुपैयाँ विदेशी स्याउ खरिदका लागि बाहिरिइरहेको र अर्कोतिर नेपाली किसानहरू बजार नपाएर मार्कामा परेको भन्दै उनले यो रकम नेपालमै रोक्न सके नेपाली किसानको जीवनस्तर उठ्ने, स्याउ बगैँचा विस्तार हुने र युवाहरू विदेशिनुपर्ने बाध्यतामा कमी आउने तर्क गरेका छन्। विदेशी स्याउ आयात रोक्न ठूलो बजेटको आवश्यकता नरहेको र सरकारको एउटा निर्णय तथा हस्ताक्षर नै पर्याप्त हुने भन्दै उनले किसानका हक र अधिकारका लागि आफ्नो कर्तव्य पूरा गर्न प्रधानमन्त्री र कृषि मन्त्रीलाई आग्रह गरेका छन्।