काठमाडौँ । प्रेस काउन्सिल नेपालले बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको संवेदनशील घटनामा पक्राउ परेका आरोपितको बयान भन्दै प्रसारित भिडियो सामग्रीमा गम्भीर आचारसंहिता उल्लङ्घन भएको जनाएको छ। काउन्सिलले उक्त घटनासँग सम्बन्धित भई विभिन्न सञ्चारमाध्यम तथा डिजिटल प्लेटफर्महरूमा प्रकाशित तथा प्रसारित सामग्रीको विशेष अनुगमन गरेको थियो।
अनुगमनका क्रममा कुल ३८ वटा सामग्रीको परीक्षण गर्दा २१ वटा सामग्री पत्रकार आचारसंहिता प्रतिकूल रहेको पाइएको काउन्सिलले जानकारी दिएको छ। अनुगमन टोलीका अनुसार आरोपितको बयानका रूपमा सम्प्रेषित भिडियो सामग्रीहरूले पीडित बालिकाको गोपनीयता, परिवारको संवेदनशीलता तथा घटनाको गम्भीरता र मर्यादामा प्रतिकूल असर पु¥याएको पाइएको छ।
यसरी आचारसंहिता विपरीतका दृश्य तथा विवरण समावेश भएको देखिएपछि काउन्सिलले सम्बन्धित सञ्चारमाध्यमहरूलाई तत्काल ती भिडियो सामग्रीहरू हटाउन टेलिफोनमार्फत प्रत्यक्ष निर्देशन दिएको थियो। काउन्सिलको कडा निर्देशनपछि सम्बन्धित सञ्चारमाध्यमहरूले उक्त विवादित भिडियो सामग्रीहरू हटाएको जनाइएको छ। बालबालिका तथा यौन हिंसासम्बन्धी संवेदनशील घटनाहरूमा पीडितको पहिचान, गोपनीयता र आत्मसम्मानमा आघात पुग्ने कुनै पनि विवरण वा दृश्य सार्वजनिक नगर्न काउन्सिलले सम्पूर्ण सञ्चारमाध्यमहरूलाई पुनः सचेत गराएको छ।
