काठमाडौँ । स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। स्याङ्जाको गल्याङ नगरपालिका–८ स्थित करादी भित्री सडकखण्डमा सोमबार साँझ बोलेरो जिप दुर्घटना भएको हो । दुर्घटनामा परी जिप चालकसहित अन्य १० जना घाइते भएका छन्।
सोमबार साँझ करिब ५ः४५ बजे गल्याङ बजारबाट गल्याङ नगरपालिका–९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जिप उकालो घुम्तीमा नियन्त्रण गुमाएर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। अनियन्त्रित भई सडकबाट खसेको जिप दुर्घटना लगत्तै प्रहरी र स्थानीयको टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको थियो।
दुर्घटनामा ज्यान गुमाएका दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले चालकसहित घाइते १० जनालाई तत्काल उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाएको छ। जिपमा कुल कति जना सवार थिए भन्ने यकिन भइनसकेको र मृतक तथा घाइतेहरूको पहिचान खुलाउने प्रयास भइरहेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।