काठमाडौं । ताजाकोट गाउँपालिकाको प्रशासकीय भवनमा आइतबार राति आगलागी हुँदा लेखा तथा न्यायिक समितिसँग सम्बन्धित कागजात र श्रेस्ता राखिएको एउटा कोठामा क्षति पुगेको छ।
गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाका अनुसार राति करिब १ बजे आगलागी भएको हो। आगलागी एउटा कोठामा मात्र सीमित रहेको प्रारम्भिक जानकारी आएको उनले बताए।आगलागीबाट कति कागजात तथा सामग्रीमा क्षति पुगेको भन्ने यकिन विवरण भने संकलन भइसकेको छैन। आगलागीको कारणसमेत खुल्न बाँकी रहेको र घटनाबारे छानबिन भइरहेको उपाध्यक्ष थापाले जानकारी दिए।प्रशासकीय भवनमा सीसीटीभी क्यामेरा जडान भएकाले आगलागीको कारण पत्ता लगाउन फुटेज अध्ययन गरिने गाउँपालिकाले जनाएको छ। सीसीटीभी फुटेजबाट घटना कसरी भयो भन्नेबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।महत्त्वपूर्ण सरकारी कागजात तथा श्रेस्ता राखिएको कोठामै आगलागी भएकाले घटनालाई गम्भीर रूपमा लिइएको गाउँपालिकाले जनाएको छ। छानबिनपछि आगलागीको कारण र क्षतिको विस्तृत विवरण सार्वजनिक गरिने बताइएको छ।