काठमाडौँ । देशभर जारी अविरल वर्षा, बाढी र पहिरोका कारण विभिन्न प्रदेशहरूलाई जोड्ने मुख्य राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार सोमबार बिहान ०६ः२० बजेसम्मको विवरण अनुसार देशका विभिन्न स्थानमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध बनेका छन्।
कोशी प्रदेशअन्तर्गत भोजपुरको बोखिमस्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ। यस्तै, इलामको राजदुवाली क्षेत्रमा झापा–ताप्लेजुङ जोड्ने मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा ठप्प भएको छ। दुवै क्षेत्रमा यात्रु तथा सवारी साधनहरूका लागि वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
बागमती प्रदेशमा पहिरोको जोखिम बढेपछि रात्रिकालीन आवागमनमा कडाइ गरिएको छ। काभ्रेपलान्चोकस्थित बीपी राजमार्गमा साँझ १८ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडक खण्डमा पनि साँझ १७ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। यस्तै सिन्धुपाल्चोकको कोदारी र लिपिङस्थित अरनिको राजमार्ग तथा रसुवाको खाल्टेस्थित त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी एवम् पासाङ ल्हामु सडक खण्ड पहिरो र बाढीका कारण पूर्ण अवरुद्ध छन्।
नुवाकोटको टोखा–छहरे सडक खण्डमा पनि राति २२ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म गाडी चलाउन रोक लगाइएको छ।
गण्डकी प्रदेशका मुख्य राजमार्गहरूमा खसेको पहिरो हटाई एकतर्फी रूपमा गाडी सञ्चालन गराइएको छ। बागलुङको बेलबगरस्थित कालिगण्डकी करिडोर, मुस्ताङको कैकु खोलास्थित बेनी–जोमसोम सडक र मनाङको खोत्रोस्थित चामे–बेसिशहर सडक खण्ड एकतर्फी खुलेका छन्। कर्णाली प्रदेशअन्तर्गत रुकुम (पश्चिम भाग)को रिजेगार्ड खोलामा आएको बाढीका कारण जाजरकोट–डोल्पा सडक खण्ड भने पूर्ण रूपमा अवरुद्ध बनेको छ।