काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपासमा अवस्थित रहेकाले देशका विभिन्न भूभागमा मनसुनी गतिविधि सक्रिय छ।
सोही प्रणालीको प्रभावले यतिबेला देशभर साधारणतया बदली रहेको छ। अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षा जारी रहेको महाशाखाले जनाएको छ।
आज सोमबार दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना रहेको छ। त्यसैगरी पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा वर्षाको सम्भावना छ। विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।